Friday, 10 November 2023

गजल(देख्न पाइएन)

ठूला र सानामा समानता बनाएको देख्न पाइएन ।।
व्यवस्थाले अवस्थामा भिन्नता बनाएको देख्न पाइएन ।।

समयको कालखण्डहरुमा जनताले धेरै नेता बनाए, देखेको छु
तर दुर्भाग्य नेताले जनता बनाएको देख्न पाइएन ।।

तेरो भन्यौँ, मेरो भन्यौँ तर हाम्रो भन्न कहिल्यै जानेनौँ
शक्ति स्वार्थले हामीमा एकता बनाएको देख्न पाइएन ।।

कुरा गर्यौँ, र फेरि कुरा गर्ने निर्णय पनि गर्यौँ 
अफशोच, काम गर्ने प्रतिबद्धता बनाएको देख्न पाइएन ।।

कहिँ पुग्छु भनि निश्चय गरेकाहरु पुगेरै मात्र छोड्छन् ।
बाटोले पाइला छेक्ने क्षमता बनाएको देख्न पाइएन ।।

ईश्वर बलामी
२०८०/०७/२४

गजल(भगवानबाट पनि हुन सक्छ ।।।)

कहिलेकाँही अपव्याख्या विद्वानबाट पनि हुन सक्छ ।।
देख्ने दुष्शाहस भूलवश कानबाट पनि हुन सक्छ ।।

ऊ मान्छे हो, उसलाई माफ गरिदिनु
गल्ती त भगवानबाट पनि हुन सक्छ ।।।

कुन युद्धको तयारीमा किन छौँ हामी ?
क्रान्ति (त महाशय) कोदो मकै धानबाट पनि हुन सक्छ ।।

लखेट्न बन्द गर पहिले ! गरिब निमुखालाई
राज्यको पतन गरिबको अपमानबाट पनि हुन सक्छ ।।

बाँचेर पनि बाँचि नरहेका ए मनुवाहरु सुन
जीवनको उदय चिहानबाट पनि हुन सक्छ ।।

ईश्वर बलामी
२०८०/०७/२४

Monday, 30 October 2023

गजल(न ठेगान छ घरको, न त पेट नै भर्ने !)

न ठेगान छ घरको, न त पेट नै भर्ने !
आखिर कसले, किन यो देशमा काम गर्ने ?

रहर त थियो होला नि परदेशीको पनि
सानो घर परिवार, सँगै जिउने सँगै मर्ने

पात झरेर रुख मर्दैन, यहाँ त जरा नै कुहिदैँछ
उपचार यो व्यवस्थालाई खै कुन कानूनले हो गर्ने ?

ऋण बढेको बढ्यै छ देशको हरेक साल
साँवा व्याज खै ! अब त के बेचेर हो भर्ने ?

कुराले भात पाक्दैन महोदय, काम गर्ने गर्नुस्
विदेशी चामलको मात्रै भर कतिन्जेल हो पर्ने ?

ईश्वर बलामी
२०८०र०७र१२

Sunday, 8 October 2023

गजल (सम्म रहन्छ)

अक्सर, कुनै पीर एक समयसम्म रहन्छ
तर मेरो पीर म रहेसम्म रहन्छ ।।

यात्रामा एक्लै छ बाटो, बाटो– आधा अनि अधूरो
कहिँ पुग्छु भनि पैताला नहिडेसम्म रहन्छ ।।

फूलहरु हुनु मात्र पर्याप्त छैन– बगैँचामा
माउरीहरु घारमा रानो रहेसम्म रहन्छ ।।

कुरा मात्र सधैँ बिक्दैन बजारमा, महोदय
सपना पनि संभावना भएसम्म रहन्छ ।।

रोक ! सक्छौँ भने दिनहुँ उड्ने चिलगाडीहरु
उडान पनि भूईमा मान्छे रहेसम्म रहन्छ ।।

ईश्वर बलामी
2080/06/21

Friday, 1 September 2023

गजल (अनि सम्झिएँ)

 तिमी टाढा गईसकेको थियौँ, अनि सम्झिएँ

मेरो पनि एउटा साथी थियो भनि सम्झिएँ


एक समय, जीवनको यात्रा जब ओरालो लाग्दै थियो,

दुःखमा ठेस लाग्यो र त्यहाँ पु¥याउने साथी पनि सम्झिएँ


निरन्तर दुःखहरुसँग लड्न सिकेर जब माथि उठेँ

प्रेरणा दिइरहेका इमान्दार दुश्मनको दुश्मनी सम्झिएँ


म गरिब थिएँ, र गरिब छु पनि साथीको मामलामा

गरिबी मेटाउने नाममा गरिब मेटाउने धनी सम्झिएँ


केहि नभेटिनु पर्नेहरु भेटिए, अनि नछुटिनुपर्ने छुटिए

जीवनको रीति सम्झेँर आकाश चिहाएँ र जननी सम्झिएँ



ईश्वर बलामी

२०८०÷०५÷१५

गजल (बाँकी नै थियो)

केही आए, केहीलाई भने बोलाउन बाँकी नै थियो

सपनाहरुको शोकमा सपनाहरु भुलाउन बाँकी नै थियो


तिमीले बोलायौँ, धन्यवाद ! तर म आउन सक्दिन थेँ

मलाई मलामीहरुलाई भोज खुवाउन बाँकी नै थियो । 


मलाई जात्रा बनाएर समयले जात्रा हेर्दै गरेको बेला

जात्रा हेर्न गएका मेरा साथीहरु नुहाउन बाँकी नै थियो


जति पनि पीडाहरु अट्ने खालको हुन्छ, मनको आकार

मन त हो ! मनले मनको मनलाई रुवाउन बाँकी नै थियो ।


मैले मलाई एक्लै छाडेको पनि धेरै नै भै सकेको छ

नाफा घाटा के कति भयो ? हिसाब मिलाउन बाँकी नै थियो ।


ईश्वर बलामी

२०८०÷०५÷१५

Thursday, 24 August 2023

गजल(समाधि लिएर )

खहरे, खोला अनि अनगिन्ति नदि लिएर !

शान्त हुन्छ पानी सागर भेटेपछि समाधि लिएर !!


तेरो र मेरो गरेरै जिन्दगी बिताउनेलाई के थाहा ?

काल बसेको छ कुरेर, चिहानमा घडि लिएर !!


वर्षौ भईसकेको छ, पहिरो गएको पनि आँगनमा

निन्द्रा लाग्दैन घरलाई, दिनरात त्रासदी लिएर !!


कसले भन्छ ? सरकार छैन भनेर यो देशमा

झरि थामिएपछि आउँदैछ, वर्सादी लिएर !!


युगौँ युगले सम्झिरहने छ, यो दशकलाई

जो जादैँछ विदेश, यो देशको शताब्दी लिएर !!

 

ईश्वर बलामी

२०८०–०५–०७


Friday, 11 August 2023

गजल(तिम्रो विकास)

बन्दा नबन्दै ढल्ने, तिम्रो विकास 

यसरी कसरी हो चल्ने? तिम्रो विकास


आँसुमा खेती गर्न सिकायौँ -किसानलाई

भकारी रित्याएर कागजमा फल्ने, तिम्रो विकास


“राम्रो” तिमीलाई राम्रो किन लाग्दैन ?

राम्रो जतिलाई नराम्रोमा बदल्ने तिम्रो विकास


एक पाऊ रहर र केहि किलो सपना किन्न

युवा देशका खाडीतिर टहल्ने, तिम्रो विकास


तिमीले भन्दै, हामीले सुन्दै गरेको हैन रछ

जनताको घर घरमा बल्ने तिम्रो विकास


ईश्वर बलामी

२०८०/०४/२३


Sunday, 4 October 2020

गजल

विश्वले भन्ने गर्थे कुनैबेला आहा! कमालको देश ।।
कसरी बन्यो वेश्याले चलाएको- दलालको देश ।।


Thursday, 24 September 2020

गजल(दस्तखत गरिन्)

जब उनले यो दिलमा दस्तखत गरिन्
म जिउदैँ रहेको भनि सनाखत गरिन् ।।

ढकढक ढड्किन त बल्ल थाल्यो मुटु
खै के जाति त्यस्तो उनले हरकत गरिन् ।।

म बन्दि थिएँ, कसुर अनेकन थिए
आफ्नो दास बनाउन, उनले जमानत गरिन् ।।

अध्याँरो मनपर्थ्यो, एकान्त मनपर्थ्यो
जतनले यो मनलाई उनले मरमत गरिन्

Wednesday, 16 September 2020

अनेकौ आविष्कार गरि विज्ञानले सजायो जगत
तर केहि चिज अझै दिन सकेको छैन! जस्तै- रगत

एक ईन्च जमिनको लागि मानिसहरु मर्छन/मार्छन
निजि सम्पति सवैको मात्र एउटै छ ! जस्तै- विगत

अनगिन्ति आविष्कार पनि गरेकै छ विज्ञानले

Monday, 14 September 2020

गजल(नाना खोज्दैछ )

गरिबको घरले छाना, पेटले माना, आङले नाना खोज्दैछ ।
दलालहरु बहाना, सामन्तीहरु तमसुकको पाना खोज्दैछ ।।

ए बाँचेका मान्छेहरु ! तिमीहरु जिउँदो जस्तो किन भएनौँ? 
त्यहाँ मरेकाहरु जिउँदालाई मुद्दा हाल्ने ठेगाना खोज्दैछ ।।

बुद्ध मरेपछिको कुरा हैन यो, यो त बुद्ध विचार मारेपछिको कुरा हो
वन्दुक भिरेर काँधमा, विद्रोही बुद्धहरु निशाना खोज्दैछ ।।

भ्रष्टलाई पुरस्कृत गर्ने कठित कु–संस्कारको विकास हुँदैगर्दा
यहाँ पसिना बगाउनेहरूबाट सरकार, जरिवाना खोज्दैछ ।।

समृद्दि बोकेर गाँउ गाँउमा पुग्ने वाचा गरेको सिंहदरवार 
युवालाई काम दाम माम दिन खाडीमा कारखाना खोज्दैछ ।।

ईश्वरले भनेकै छन्, तिमीमै छु म र तिमीमै सदा रहनेछु
लुकाएर मनमै ! ईश्वरलाई किन ढुंगामा, जमाना खोज्दैछ ?

ईश्वर बलामी
२०७७/०५/२६
तस्वीर : साझा पोष्ट

Thursday, 27 August 2020

गजल(झोला बोकेर)

केही किलो चाँदी, सुनका केहि तोला बोकेर
आत्मा किन्न नहिडेँ हुन्छ चिहानमा, झोला बोकेर

मन्द मुस्काउँछ ढुंगा, सम्झि सम्झि आफ्ना मित्रहरू
जो बाँचिरहेका छन्, मरेर जाने चोला बोकेर

सौम्य छ शान्त पनि छ महासागर सदा झैँ आजपनि
अनगिन्ति नदि, नाला, खहरे अनि खोला बोकेर ।।

दुई मुठ्ठी खरानीमा समेतिए ति मानिसहरू पनि
जो संसार ध्वस्त गर्न हिडेँ, वम-वारुदका गोला बोकेर ।।

खुशीसँग रमाए आसुँ, दुखसँग रसाए आँसु
पीर पर्दा मनमा आँसुको, आँसुलाई को रोला बोकेर ?

ईश्वर बलामी 
2077.05.11


gaja

घर, गाडी, बैंक ब्यालेन्स सबै छ तिसँग आज
जो आएका थिए राजनीतिमा झोला बोकेर ।।

यताको भागमा डुवान पर्यो उता के पर्यो कुन्नि ?
असमान सन्धि सम्झौता भएपछि खोला बोकेर ।।

अवस्था केहि बद्लिएन, व्यवस्था धेरै बदले पनि
के पायो देशले ? क्रान्तिको नाममा वम-गोला बोकेर ।।

स्वतंत्रता र सम्पन्नता अझै छ टाढा धेरै-धेरै, 
पुर्याईदिने त्यहाँसम्म देशलाई ! कोही होला बोकेर? 

दुई दिनको जिन्दगी, मरिजाने  चोला बोकेर ।।
देशभक्त आत्मा देऊ, लैजाऊ सुन केहि तोला बोकेर ।।

Tuesday, 18 August 2020

गजल(पहाडमा पहिरो तराईमा बाढी जादैँछ ।)

पहाडमा पहिरो तराईमा बाढी जादैँछ ।
कमिशन बोकेर दरवारमा गाडी जादैँछ ॥

व्यापारी अस्पतालहरू विरामी हेर्न मान्दैन
सामान्य ज्वरो आउँदा पनि नाडी जादैँछ ॥

आउन त आयो सरकार ! गाउँ वस्तीमा तर
पीडितलाई खाली आश्वासन बाँडी जादैँछ ॥

भविष्यको गर्भवाट जन्मिने विगतका अलापले 
केही प्रश्नहरू वर्तमानलाई छाडी जादैँछ ॥

यो नदिमा बगिरहेको रगत हो! मृत बा'आमाको 
छोरा भेट्न जो बग्दै बग्दै खाडी जादैँछ 

ईश्वर बलामी 
2077-04-32

गजल(युद्ध जितेर आएकाहरु, लडेर कस्ता कस्ता सँग)

युद्ध जितेर आएकाहरु, लडेर कस्ता कस्ता सँग
हार्न बाध्य हुँदैछन्, आफ्नै देशको अवस्थासँग

एकदिन सबैले मर्नैपर्छ, जन्मिएर आएपछि संसारमा
बरु दुश्मनी नै राम्रो, मित्रता गर्नुभन्दा यस्तासँग

विरोधका लागि विरोध गर्ने कु–संस्कार बसाएपछि
के नै आशा गर्न सकिन्छ र ? जनताले व्यवस्थासँग

भविष्य बोकेर वर्तमान उड्न थालेको वर्षौ भयो, विदेशतिर
के स्वाभिमानी भन्नु र खै ? बेचेर अभिमान युवापुस्तासँग

चिल्ला सडक सम्मको सीमाना मात्र हो के– यो देश?
हैन भने किन हेला ? कर्णालीका आस्थासँग !

२०७७/०४/२२

Wednesday, 29 July 2020

गजल(जुन दिन परीक्षा दिदैँथिन्- पवित्रताको, सीता

गजल

जुन दिन  पवित्रताको परीक्षा दिदैँथिन्, सीता
घर भन्दा पनि प्रिय लाग्दैथ्यो उनलाई चिता ।।

यो कस्तो धर्म हो ? जो संसार यतिखेर पढिरहेछ
च्यातेर बाईवल, त्रिपिटक, कुरान अनि गीता ।।

कुकुर पनि छोरासगैँ सुत्छ न्यानो ओच्छ्यानमा
कठै ! आश्रमको चिसो भुँईमा छन् माता र पिता ।।

मलाई ठूल-ठूला पिण्डहरूको कुनै लोभ छैन
मरे पछि के खानु र ? मिष्ठान्न मिठा-मिठा ।।

बाँकी सबै सबै त बुख्याँचा शिवाय केही होईन
सुखदुखका साक्षी केवल हुन्- आँशुका केहि छिता ।।

ईश्वर बलामी 
2077-04-14

गजल ( घर थिएन हाम्रो आफ्नै- सबै थियो बन्दकी)

घर थिएन हाम्रो आफ्नै- सबै थियो बन्दकी
खरानी भयो गोठसगैँ हामी गरिबको जिन्दगी ।।

पेट भोको छ- तर खान मिल्दैन नागरिकता
निकाला गरिएको छ- देशबाट सीमापारी नलगी ।।

एकान्त हो ठेगाना अनि एकांकी हो परिचय
न कोही छन् हाम्रो पछि न त छन्- कोही अघि ।।

रमिता हुन सक्छ आगो ताप्ने बटुवालाई
ज्वालामुखी फुटे ती मुटुमा- जसले भोगे जगजगी ।।

चट्टानी ठूल-ठूला पहाड नै किन नहोस् बाटोमा
सुखै छैन नदिलाई- ढुंगा चिरेर नबगी ।।

#चेपाङको बस्ती न उजाडः सकिन्छ भने व्यवस्थापन गर । वालुवाटार बेच्नेलाई पुरस्कार, जमिन जोत्नुलाई अपराध मान्नु न्यायेचित हुँदैन । विरोधः मानवीयताको लागि 

2077-04-12

Friday, 24 July 2020

गजल- लाखौं परे पनि विश्वबजारमा मूल्य-पस्मिनाको !

लाखौं परे पनि विश्वबजारमा मूल्य-पस्मिनाको !
दश वटै हजार मात्र हो बुझ्ने मजदुरले-महिनाको ।।

महंगा रक्सी, ब्र्याण्डी अनि वाईनमा नशा कहाँ?
शासकहरू पिउने गर्छन ता-तातो रगत -मसिनाको ।।

हड्डी घोट्ने मजदुरलाई उभ्याएर एकै लहरमा - सोधिन्छ
भन ! को को सँग कति कति छ? । स्टक पसिनाको ।।

विश्वमा गरिब देश त्यहि हो- जहाँ छ सुनखानी
यहाँ मटन पाक्छ- गुन्द्रुकको, वरफ बन्छ असिनाको ।।

धनि गरिव, काला गोरा, उच निच बनाए मानिसले
भेद र विभेद कति थिएन !  मन्दीर अनि मदिनाको ।।

2077-04-07

Monday, 13 July 2020

गजल( उमेर लागेपछि)



ठूला पहाड पनि, भर्याङ जस्तो लाग्छ, उमेर लागेपछि ।
सानो भर्याङ पनि, पहाड जस्तो लाग्छ, उमेर नाघेपछि ।।

त्यसैले बाँच– बाँचे सम्मलाई– आँसुलाई पनि हसाएर
केहि लाग्दैन तिम्रो, मृत्युले तिमीसँग, उमेर मागेपछि ।।

मानिस हुन सक्छ– चरि जस्तै कैद– कुनै पिंजडामा
सपना देख्न सक्छ, तर मनले लिएर– उमेर भागेपछि ।।

सम्पूर्ण रातहरु जिन्दगीका, सन्तानको पीरमै बितेपछि
मस्त निदाउने, चिहानमा नै हो– अन्ततः, उमेर थाकेपछि ।।

लाखौँ सपनाहरु– एउटै जिन्दगीमा– नहुन सक्छन् पुरा तर
वालक बन्छ बृद्ध पनि, मनमा- वालखा उमेर जागेपछि ।।

ईश्वर बलामी


२०७७÷०३÷२९