Saturday, 16 April 2016

गजल(सबथोक बिकेको छ ।)

केही छैन नबिकेको ! सबथोक बिकेको छ ।
तिमी म मात्र होइन, पुरै लोक बिकेको छ ।


विश्वास नलाग्न सक्छ, जो कोहीलाई पनि
बन्द कोठाभित्र गाँउ, गल्ली, चोक बिकेको छ ।

जमाना यति खराब छ कि के भनौँ खै ?
महंगा रात्री भोजहरूमा बिमारी भोक बिकेको छ ।

दुःख पनि आफ्नो भएन, दुःखीहरूको अचेल
सुनजस्तै विश्व बजारमा शोक बिकेको छ ।

जाऊँ, कहाँ जाऊँ ? उजूरी बोकेर हे भगवन
पसिना भन्दा महंगो भाउमा कोक बिकेको छ ।

2016.04.12
Ishwor Balami

No comments:

Post a Comment