Friday, 23 September 2016

गजल

एकै पल पनि हजारौँ युग समान हुन्छ मायामा
रिस अनि घृणको लागि सम्पूर्ण जीवन छोटो छ ।

मर्दा केहि लिएर गएका तिनी पनि होइनन्
घरको दलिनमा अझै पनि जसको भोटो छ ।

म मान्दिन तिम्रो ईश्वर, येशु, बुद्ध अनि अल्लाह
मेरो मन मन्दिरमा मानवताको जिउँदो फोटो छ ।

यो संसार तिनको पनि हो सबैको जस्तो
तर तिनी संसारको हैन जसको भाग्य नै खोटो छ ।

ईश्वर बलामी
२३।०९।२०१६

गजल

कुनाकाप्चामा बच्चा बच्ची खेल्ने भाँडाकुँडीहरु देखिए
उप्कीएका भित्ताहरु, छेउैमा छरपस्ट मुडामुडीहरु देखिए

कहाँ बिक्री भए खै ? यो देशका युवा तन्नेरीहरु
यहाँ त महिला, बालवालिका अनि बुढाबुढीहरु देखिए

आविष्कार भएको छैन संसारमा सन्तुष्टि किन्ने धन
वर्षौदेखि आनन्दले सिस्नो र साग नपाएका भूँडीहरु देखिए

अभावै अभावले जोत्ने गर्छ, किसानहरुलाई यो देशमा
सुन जस्तै महंगो भाउमा बेचिएका गेडागुडीहरु देखिए

चिन्ता कसैलाई रत्तिभर छैन, जसले जे भने पनि
यहाँ त पद अनि पैसाको लागि लुछाचुँडीहरु देखिए

ईश्वर बलामी
२३।०९।२०१६