Thursday, 27 August 2020

गजल(झोला बोकेर)

केही किलो चाँदी, सुनका केहि तोला बोकेर
आत्मा किन्न नहिडेँ हुन्छ चिहानमा, झोला बोकेर

मन्द मुस्काउँछ ढुंगा, सम्झि सम्झि आफ्ना मित्रहरू
जो बाँचिरहेका छन्, मरेर जाने चोला बोकेर

सौम्य छ शान्त पनि छ महासागर सदा झैँ आजपनि
अनगिन्ति नदि, नाला, खहरे अनि खोला बोकेर ।।

दुई मुठ्ठी खरानीमा समेतिए ति मानिसहरू पनि
जो संसार ध्वस्त गर्न हिडेँ, वम-वारुदका गोला बोकेर ।।

खुशीसँग रमाए आसुँ, दुखसँग रसाए आँसु
पीर पर्दा मनमा आँसुको, आँसुलाई को रोला बोकेर ?

ईश्वर बलामी 
2077.05.11


gaja

घर, गाडी, बैंक ब्यालेन्स सबै छ तिसँग आज
जो आएका थिए राजनीतिमा झोला बोकेर ।।

यताको भागमा डुवान पर्यो उता के पर्यो कुन्नि ?
असमान सन्धि सम्झौता भएपछि खोला बोकेर ।।

अवस्था केहि बद्लिएन, व्यवस्था धेरै बदले पनि
के पायो देशले ? क्रान्तिको नाममा वम-गोला बोकेर ।।

स्वतंत्रता र सम्पन्नता अझै छ टाढा धेरै-धेरै, 
पुर्याईदिने त्यहाँसम्म देशलाई ! कोही होला बोकेर? 

दुई दिनको जिन्दगी, मरिजाने  चोला बोकेर ।।
देशभक्त आत्मा देऊ, लैजाऊ सुन केहि तोला बोकेर ।।

Tuesday, 18 August 2020

गजल(पहाडमा पहिरो तराईमा बाढी जादैँछ ।)

पहाडमा पहिरो तराईमा बाढी जादैँछ ।
कमिशन बोकेर दरवारमा गाडी जादैँछ ॥

व्यापारी अस्पतालहरू विरामी हेर्न मान्दैन
सामान्य ज्वरो आउँदा पनि नाडी जादैँछ ॥

आउन त आयो सरकार ! गाउँ वस्तीमा तर
पीडितलाई खाली आश्वासन बाँडी जादैँछ ॥

भविष्यको गर्भवाट जन्मिने विगतका अलापले 
केही प्रश्नहरू वर्तमानलाई छाडी जादैँछ ॥

यो नदिमा बगिरहेको रगत हो! मृत बा'आमाको 
छोरा भेट्न जो बग्दै बग्दै खाडी जादैँछ 

ईश्वर बलामी 
2077-04-32

गजल(युद्ध जितेर आएकाहरु, लडेर कस्ता कस्ता सँग)

युद्ध जितेर आएकाहरु, लडेर कस्ता कस्ता सँग
हार्न बाध्य हुँदैछन्, आफ्नै देशको अवस्थासँग

एकदिन सबैले मर्नैपर्छ, जन्मिएर आएपछि संसारमा
बरु दुश्मनी नै राम्रो, मित्रता गर्नुभन्दा यस्तासँग

विरोधका लागि विरोध गर्ने कु–संस्कार बसाएपछि
के नै आशा गर्न सकिन्छ र ? जनताले व्यवस्थासँग

भविष्य बोकेर वर्तमान उड्न थालेको वर्षौ भयो, विदेशतिर
के स्वाभिमानी भन्नु र खै ? बेचेर अभिमान युवापुस्तासँग

चिल्ला सडक सम्मको सीमाना मात्र हो के– यो देश?
हैन भने किन हेला ? कर्णालीका आस्थासँग !

२०७७/०४/२२